मिनाक्षी थापा हत्या मामिलामा दोषीहरुलाई आजिवन कारावास

मिनाक्षी थापा हत्या मामिलामा महत्त्वपूर्ण फसेला: दोषीहरुलाई आजिवन कारावास

बलिउडको दुनियाँमा अहिले देखा परेका सनसनीपूर्ण समाचारहरूमा मुख्य बनेको छ नेपाली युवती मिनाक्षी थापाको हत्याको मामला अनि त्यसमाथि न्यायालयको आदेश। मुम्बईका सम्पूर्ण पत्र-पत्रिका र च्यानलहरूमा विगत तीनचार दिनदेखि यही समाचार नै प्रमुख बनेर देखा परिरहेको छ।

यहाँको दक्षिण मुम्बईको एउटा सत्रह न्यायालयले गत शुक्रबारका दिन आफ्नो महत्त्वपूर्ण आदेश सुनाउँदै उत्तर प्रदेशनिवासी अमित जयसवाल (36) अनि उसकी प्रेमिका प्रीति सुरिन (26) –लाई हिन्दी चलचित्रकी सङ्घर्षशील अभिनेत्री मिनाक्षी थापा (27) -को अपहरण अनि हत्याको अपराधमा दोषी ठहर गर्दै आजीवन कारावासको आदेश सुनाएको छ। अतिरिक्त सत्रह न्यायाधीश एसजी सेट्ठेले यो फसेला यी दुइ अपराधीहरूबिरुद्ध भारतीय दण्ड संहिताका धारा 302 (हत्या) अनि 364-ए (फिरौतीका लागि अपहरण) -अन्तर्गत सुनाएका हुन्।

पृष्ठभूमि – देहरादुनको प्रख्यात दुन स्कुलकी पूर्व छात्रा रहेकी मिनाक्षी सन् 2011 –मा सिने जगतमा आफ्नो प्रतिभा उजागर गर्ने उद्देश्यले मुम्बई आएकी थिइन्। यहाँ आएर उनले 404 नामक रहस्यमय फिल्ममा पहिलो चोटि काम गरेकी थिइन्। 2012 -को मार्च महिनामा मिनाक्षी थापाले मधुर भन्डारकरको चर्चित फिल्म हिरोइनमा एक विशेष भूमिका निर्वाह गरिरहेकी थिइन्। देरहादुन निवासी थापा मुम्बईको फिल्मी जगतमा आफ्नो प्रतिभा उजागर गरेर यशार्जन गर्नका लागि आएकी नेपाली ठिटीले आफ्नो प्रतिभाको आधारमै दुइ महिनामै भन्डारकरजस्ता नामी सिनेनिर्माताको फिल्ममा मौका पाएकी थिइन्। तर उनीसँगै सुटिङ युनिटमा काम गर्ने जुनियर कलाकारहरूको युगल जोड़ी जयसवाल अनि सुरिनलाई भने धनको लालच थियो। यी दुइ जोड़ीले मिनाक्षी देहरादुनको निकै ठुलो खानदानी घरानासित सम्बन्धित युवती हुनसक्ने शङ्कामा उनलाई अपहरण गरेर परिवारबाट फिरौतीको माग गर्ने कुत्सित योजना बनाए। यसको लागि दुवै अपराधीहरूले मिनाक्षीसँग घनिष्टता बढ़ाएर उनको मन जिते अनि आफुहरू सिने उद्योगसित सम्बन्धित रहेको दाबी गर्दै भविष्यमा ठुलो बजेटको चलचित्रमा मौका मिलाइदिने प्रतिश्रुतिहरू दिनथाले। सिने संसारमा आफ्नो नाउँ राख्नलाई मुम्बई आएकी नेपाली ठिटी मिनाक्षी पनि युगलको वचनमाथि विश्वास गरेर उनीहरूसित धेरै नजिक हुनथालिन्।
यसैबिच गोरखपुरमा एउटा सुटीङ गर्नुपर्ने बहानामा यी दुइजना अपराधीहरूले 13 मार्च, 2012 -का दिन मिनाक्षीलाई अलाहबाद लिएर गए। बिच बाटामा उसको अपहरण गरेर दुवैले मिनाक्षीकै फोन प्रयोग गर्दै देहरादुनमा रहेकी उनकी आमालाई धम्कीसहित भारतीय रुपियाँ 15 लाखको माग गरेर मेसेज पठाए। आफ्नी छोरीको प्राण बचाउनका लागि आमाले पैसा जोगाड़ गर्नथाले पनि ३० हजारभन्दा बेसी जम्मा गर्न सकिनन् र त्यति नै उनले पठाइन्। जब यी दुवै अपराधीले थाहा पाए मिनाक्षी कुनै ठुलो घरानाकी छोरी थिइनन् अनि उनकी आमा पनि यति मोटो रकम जुटाउनमा असफल छिन् भन्ने तब उनीहरूले प्रतिभाशाली नेपाली ठिटीको हत्या गर्ने योजना बनाए। किनभने मिनाक्षीलाई जिउँदो छाड़्दा आफुहरू पक्रा पर्ने आशङ्का बढ़ेर गएको थियो। यसैले दुवैले मिनाक्षीको हत्या गरे। पहिला मिनाक्षीको टाउको काटेर अलग गरे अनि लाश अहालबादको एउटा मलखानाको ट्याङ्कीमा लुकाइदिए। त्यसपछि लखनउमा छुरी लुकाएपछि यी दुवै जौनपुर जाने राज्य सरकारको बसमा चढ़े। यसैबिच काटिएको टाउको चाहिँ अपराधीहरूले लखनउदेखि जौनपुर जाने बाटाबिच फालिदिए। यद्यपि यी दुइले मिनाक्षीको परिवारमा फोन गरेर पैसा मागिरहने काम भने २ अप्रेलसम्म जारी राखे। हत्यापछि यी दुइले मिनाक्षीको मोबाइल फोन र क्रेडिट कार्डहरू आफुसित राखेका थिए।
यस हत्याको मामिलामाथि उच्च स्तरीय जाँच सुरू भयो अनि अपराधीहरूको दुर्भाग्यवश मामिला स्पेसल पब्लिक प्रोसिक्युटर अथवा विशेष सरकारी उकिल उज्ज्वल निकमजस्ता व्यक्तिको हातमा पुग्यो। अर्कोतिर पुलिसी छानबिनका प्रभारी पनि मुम्बईको अपराध जगतका नामी पुलिस अधिकारी हिमांशु रोयको अधीनमा पर्नगयो। त्यतिखेर हिमांशु रोय मुम्बई पुलिसको अपराध शाखामा संयुक्त आयुक्त अथवा जोइन्ट कमिस्नरका रुपमा सनसनी मच्चाउने अधिकारीका रुपमा परिचित थिए। यद्यपि पुलिसलाई मिनाक्षीको शव अनि शिर उद्धार गर्न एक महिनाको समय लागेको थियो। आतङ्कवादी हमलाहरूको मामिला हातमा लिएर देशका शत्रुहरूलाई मृत्युदण्डको फसेला सुनाउन न्यायाधीशहरूलाई बाध्य बनाउने उज्ज्वल निकमजस्ता उकिलले मिनाक्षीको मुद्दामा पनि हत्याराहरूलाई फाँसीको सजाय सुनाउने माग गरेका थिए। निकमले यस मामिलामा जम्मा ३५ जना साक्षीहरूको बयान लिएका थिए जसमा मुख्य रुपमा मिनाक्षीको परिवारका सदस्यहरूको भूमिका अहम् थियो। यसरी नै अभियुक्त सुरिनका पिताको गवाहीले पनि मामिलामा महत्त्वपूर्ण मोड़ ल्याएको थियो जब उनले यी तीनैजनालाई गोरखपुरमा भेटेको सत्य कबुलेका थिए।
अर्कोतिर यस हत्या मामिलाको सुनवाइ प्रक्रियामा गत ६ सालदेखि रुची राखेर आदेश पर्खिरहेका सम्बन्धित सबैको अघि न्यायालयको आदेश त्यो दिन आएको छ जुन दिन हिमांशु रोयले दक्षिण मुम्बईस्थित आफ्नो वासस्थानमा सरकारी पिस्तोलले आफ्नो मुखमा गोली ठोकी आत्महत्या गरे।
यस मामलामा रुची लिएर पर्खने सबैमा आज न्यायालयको फसेलाले राहत दिए तापनि अर्कोतिर मिनाक्षी अनि उनको परिवारलाई यसरी न्याय प्रदान गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पुलिस कमिस्नरको आत्महत्याले सम्पूर्ण मुम्बईवासीहरूलाई जस्तै दुखित  तुल्याएको छ।

स्रोत: चरित्र प्रकाशन
हिमदर्पण

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions