विमल गुरुङलाई मर्न दिन्न भन्ने भाजपा सरकार पनि विमललाई पाखा लगाउँदै विनयको पक्षमा! ।

सिलगढी । लोकसभा चुनाउको ठीक एक वर्षअघि विनय तामाङ केयरटेकर रहेको गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (जीटीए)- लाई केन्द्र सरकारले प्रायः १३५ करोड़ रुपियाँको आर्थिक गुच्छ दिइरहेको कुरा दिल्लीबाट पत्राचार गरेर लालकोठी (जीटीए सदर कार्यालय)-लाई सूचित गरिएको छ।

केन्द्रको भाजपा सरकार, जसले यतिका दिनसम्म गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङको पक्षमा वकालती गर्दै आइरहेको थियो, -ले अचानक पहाड़को विकासको निम्ति १३४ करोड़ ९९ लाख रुपियाँको आर्थिक गुच्छ विनय तामाङ केयरटेकर रहेको जीटीएलाई दिइन लागेकोले राजनैतिक पर्यवेक्षकहरूले थरीथरीका अड्कलबाजीहरू लगाउन थालेका छन्। विनय तामाङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति मोर्चाले केही दिनअघि मात्र भाजपाको नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक फ्रण्ट (एनडीए) छोडेको घोषणा गरेको थियो।

तर त्यसको लगत्तैपछि विमल गुरुङले मोर्चा अहिले पनि एनडीएको सहयोगी दल रहेको घोषणा गरे । प्रेस विज्ञप्ति जारी गरेर अनि अडियो र भिडियो क्लिप मार्फत पहाडका बासिन्दाहरूलाई सन्देश र शुभकामना दिनु बाहेक विमल गुरुङ अहिले पहाड़मा सार्वजनिक रूपले बाहिर निस्किन सकेका छैनन्। राज्य सरकारले यूएपीए लगायत आईपीसीका विविध धारामा मामिलाहरू दर्ता गरेकोले विमल गुरुङ सार्वजनिक हुनसाथै पक्रा पर्ने प्रबल सम्भावना छ।

यसैले तिनी अहिले भूमिगत रूपमा नै छन्। भूमिगत रहेर तिनले गोर्खाल्याण्ड राज्य गठनको पक्षमा वकालती गरिरहेको भए पनि पहाड़का मानिसहरूसँग तिनको सोझै अन्तरक्रिया हुन सकेको छैन। न ता तिनले जनसभा मार्फत पहाड़का मानिसहरूलाई सम्बोधन नै गर्न सकेका छन्। यस्तो स्थितिमा पहाड़का मानिसहरूको विमल गुरुङप्रतिको आस्था र विश्वासमा ह्रास आउन सक्ने सम्भावना राजनैतिक पर्यवेक्षकहरूको एउटा समूह व्यक्त गर्छन्।

अर्कोतिर राज्यको तृणमूल कंग्रेस सरकारले जीटीएका केयरटेकर बनाएका विनय तामाङले जीटीएका विभिन्न ठाउँको भ्रमण गर्दै छन्। भ्रमण मात्र नगरेर तिनले जीटीएका केयरटेकर नै भएर पहाड़मा शिलान्यासलगायत विकासका केही कार्यहरू शुरू गरेका छन्। यसै विकास कार्यहरू मार्फत विनय तामाङ पहाड़मा आफ्नो जनाधार बढाउन प्रयासरत छन्। विकास बाँडेर विनय तामाङले विमल गुरुङपन्थी मोर्चा नेता, कार्यकर्ता र समर्थकहरूको मन जित्ने प्रयास गरिरहेका छन्।

पहाड़का बहुसंख्यक जनता अहिले पनि गोर्खाल्याण्ड राज्य गठनको पक्षमा रहेको राजनैतिक पर्यवेक्षकहरूको एउटा समूहको दावी छ। तर गोर्खाल्याण्डका पक्षधर हुँदा हुँदै पनि पहाड़का केही नेता र जनता डरले, रहरले र करले विनय तामाङ नेतृत्वाधीन मोर्चालाई समर्थन गर्न बाध्य भइरहेका छन्। पहाड़को वर्तमान यस परिस्थितिबारे अगवत रहेको केन्द्रको भाजपा सरकारले एकातिर विमल | गुरुङलाई मर्न दिन्न भनेर अनि अर्कोतिर जीटीएलाई आर्थिक गुच्छ दिएर पहाड़का जनता र विनय तामाङको मन जित्ने प्रयास गरेको हुनसक्ने राजनैतिक पर्यवेक्षकहरूको अर्को एउटा समूह बताउँछन्।

स्रोत : हाम्रो प्रजाशक्ति

Share this:

 
Copyright © 2024 Indian Gorkhas Designed by Darjeeling Web Solutions